सगरमाथा आरोहणका लागि 'रोप फिक्सिङ'को काम सकियो

सोलुखुम्बु — वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ‘रोप फिक्सिङ’ को काम सम्पन्न भएको छ । सगरमाथा प्रदूषण नियन्त्रण समितिका अनुसार खुम्बु आइसफल रुटमा यस वर्षको वसन्तकालीन सिजनका लागि सफलतापूर्वक फिक्सिङ गरिएको हो ।आइसफल डाक्टरको टोलीले फिक्सिङको काम सकाएको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामा काजी शेर्पाले बताए । हरेक वर्ष एसपीसीसीले ५ हजार २ सय मिटरको पहिलो शिविरदेखि ६ हजार ४ सय मिटरको दोस्रो शिविरसम्म डोरी टाँग्ने काम गर्ने गरेको छ । त्यसभन्दा माथि पर्वतारोहण सञ्चालक संघले टेन्डरमार्फत जिम्मा दिने गरेकोमा यस वर्ष एटके एक्सपिडिसनले गरेको जनाइएको छ । वसन्त ऋतु हिमाल आरोहणका लागि सबैभन्दा अनुकूल समय मानिन्छ ।
टोलीमा आधार शिविर व्यवस्थापक छिरिङतेन्जिङ शेर्पासहित ८ जना अनुभवी ‘आइसफल डाक्टर’ छन् । दुईवटा छुट्टाछुट्टै टोली गठन गरिएको छ, जसको नेतृत्व आङसर्की शेर्पा र दावाजाङ्बु शेर्पाले गरेका छन् । टोलीमा दाबानुरु शेर्पा, निमतेन्जी शेर्पा, मिङ्माग्याल्जेन शेर्पा, दाबाछिरी शेर्पा, लाक्पासोना शेर्पा र तेन्डु शेर्पा रहेका छन् । सन् १९९७ देखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले एसपीसीसीलाई खुम्बु आइसफल मार्ग निर्माण तथा मर्मतको जिम्मेवारी दिँदै आएको छ ।
हिमाल आरोहण मार्ग बनाउन अत्यन्त जोखिमपूर्ण मानिन्छ । खुम्बु आइसफल क्षेत्र सबैभन्दा खतरनाक भागहरूमध्ये एक हो, जहाँ हिउँको विशाल ढिस्को, भ्वाङ, अनि हिमपहिरोको खतरा रहन्छ । टोलीले सगरमाथाको दोस्रो आधार शिविरसम्म जाने बाटो निर्माण गर्नुपर्ने हुन्छ, जसका लागि डोरी टाँग्ने, जोखिमपूर्ण स्थानमा भर्याङ राख्ने, हिउँ तथा बरफको अस्थिर संरचनाहरूलाई स्थिर बनाउनेजस्ता कार्य गर्नुपर्ने हुन्छ ।
यसैबीच सगरमाथा प्रदूषण नियन्त्रण समितिले केही नेपाली अनलाइन न्युज पोर्टलमा हालसालै फैलिएको हिमपहिरोले रुटमा सिँढी र डोरी क्षतिग्रस्त भएको रिपोर्ट प्रकाशन गरेको प्रति ध्यानाकर्षण भएको जनाएको छ । हिमपहिरोले रुटमा सिँढी र डोरीहरू क्षतिग्रस्त नभएको भन्दै प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । सगरमाथा प्रदूषण नियन्त्रण समितिले अप्रमाणित सूचना नफैलाउन सञ्चार माध्यमलाई आग्रह समेत गरेको छ ।
पर्यटन विभागका अनुसार, फागुन १७ देखि चैत २६ गतेसम्म सगरमाथा आरोहणका लागि नेपालसहित ३० देशका १ सय ३४ जनाले अनुमति लिएका छन् । यिनमा २७ महिला र १ सय ७ पुरुष छन् । सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै अनुमति लिनेमा अमेरिकाबाट ४२, चीनबाट १९, भारतबाट १७, अस्ट्रेलियाबाट ६, क्यानडा तथा ब्राजिलबाट ५/५ छन् ।
सम्बन्धित पढाइ
- नेपालबाट हराएका दुई मूर्ति बेलायत प्रहरीद्वारा फिर्ता
- अन्नपूर्ण पदमार्गमा पर्यटक बढे
- सरकारले निजी क्षेत्रलाई भन्यो- आर्थिक गतिविधिमा प्रतिवन्ध लाग्दैन
- कोरोना सङ्क्रमण तीव्र, स्वास्थ्य मापदण्ड शून्य
- सगरमाथा आरोहणका लागि 'रोप फिक्सिङ'को काम सकियो
- भक्तपुर नगरमा नवदुर्गा देवगणको ङालाकेगु जात्रा सुरु
- मुुक्तकमैया शिविरमा आगलागी, ७१ घर जले, ३०० जना विस्थापित
- भरतपुर विमानस्थलबाट चाँदीका विभिन्न गरगहनासहित दुई पक्राउ
- आजदेखि भक्तपुरमा मास्क नलगाउनेलाई १ सयदेखि ६ सय रुपैयाँसम्म जरिवाना
- शान्ति मिसनमा धेरै सैनिक पठाउने सूचीमा नेपाल पहिलो