२ वर्षपछि मलेसियाबाट आउन थाल्यो नेपाली श्रमिकको माग

नेपाल समाचार 2022-04-12 00:13:2714183नेपाल इन्टरनेशनल न्यूज नेटवर्कसमाचार केन्द्र

२९ फागुन, काठमाडौं । नेपालीको प्रमुख श्रम गन्तव्य मलेसियाबाट फेरि नेपाली श्रमिाकको माग आउन थालेको छ । २ वर्षअघि कोरोना महामारी शुरु भएपछि मलेसियाले विदेशबाट श्रमिक लिन बन्द गरेको थियो ।

तर, गत २८ जनवारीदेखि मलेसियाले विभिन्न क्षेत्रमा श्रमिक लिन सुरु गर्ने निर्णय गरेको थियो ।  अब श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन सुरु गर्ने बताएको छ । अब दुई बर्षदेखि रोकिएको मलेसियाको रोजगारी खुला हुने भएको छ । मन्त्रालयले कुटनीतिक नियोगबाट प्रमाणिकरण भई आएका मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय गरेको छ ।

कोरोना महामारीका कारण सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेपछि नेपाली श्रमिकहरु जान पाएका थिएनन् ।

मलेसिया सरकारबाट विदेशी कामदार लिन सुरु गरेपछि मागपत्र नेपाली कुटनीतिक नियोगबाट प्रमाणिकरण भई आएकोले श्रम स्वीकृति प्रदान गर्न थालिएको हो ।
खाडीका देशहरुले श्रमिक लिन थाले पनि मलेसिया बन्द हुँदा थुप्रै श्रमिक मर्कामा परेका थिए । मलेसियाको यही नीतिका कारण कतिपय श्रमिक मलेसियाबाट फर्किन पनि सकेका थिएनन् ।

२०१५ ताका मलेसियामा करिब ७ लाख नेपाली श्रमिक (वैध तथा अवैध) कार्यरत थिए । तर, अहिले त्यो संख्या करिब डेढ लाखमा झरेको अनुमान छ ।

महामारीअघि पनि मलेसियाको रोजगारीमा उल्झनमा थियो । मलेसियाको रोजगारीमा जाने श्रमिकबाट मेडिकल, भिसा सहजीकरण, भीएलएन, वायोमेट्रिक लगायतका नाममा अतिरिक्त शुल्कसहित लादिएको सिन्डिकेट अन्त्य हुनुपर्ने भन्दै नेपाल सरकारले १२ जेठ, २०७५ बाट श्रमिक पठाउन बन्द गरेको थियो । तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले ठगी गर्नेमाथि कारवाही अभियान चलाउँदै श्रम स्वीकृति रोकेपछि मलेसियन सरकार श्रम समझदारीका लागि सम्वादमा आएको थियो ।

त्यसकै आधारमा मलेसिया जाँदा एक रुपैयाँ पनि शुल्क तिर्नु नपर्ने र लागेको सबै शुल्क रोजगारदाताले नै व्यहोर्ने गरी ११ कात्तिक २०७५मा मलेसिया सरकारसँग श्रम समझदारी भयो ।

तर, मलेसियाले पुराना भेन्डरमार्फत नयाँ कामदारको भिसा प्रक्रिया अघि बढाउन चाहृयो भने नेपालले त्यसमा सहमति जनाएन । समझदारीमा हस्ताक्षर भएको १० महिनासम्म रोजगारीमा नलगेपछि सरकारमाथि म्यानपावर व्यवसायीले नै दबाव बढाएका थिए ।

श्रम स्वीकृति बन्द भएको १५ महिनापछि २९ भदौ, २०७६ मा मात्रै मलेसियामा जाने कामदारले श्रम स्वीकृति पाउन थालेका थिए । तर, करिब ५५ हजार नेपाली मलेसिया पुग्न नपाउँदै कोरोनाको महामारी शुरु भयो र फेरि मलेसियाको रोजगारीको ढोका बन्द भएको थियो ।

मलेसियाले कहिलेबाट नेपाली श्रमिकका लागि रोजगारी खुला गर्छ भन्ने निश्चित थिएन ।

मलेसियामा नेपाली श्रमिकको माग हुने क्षेत्रमा श्रमिको अभाव चर्किएको छ । मलेसियामा सुरक्षा गार्डका रुपमा मलेसियन नागरिक र नेपाली नागरिकले मात्रै काम गर्न पाउँछन् । तर, धेरै श्रमिक करार अवधि सकाएर नेपाल फर्किएकाले सुरक्षाको क्षेत्रमा श्रमिक अभाव भइसकेको छ ।

मलेसियाको रोजगारी खुलेपछि श्रमिक नठगिने गरी वातावरण बनाउनुपर्ने अवस्था रहेको मलेसियाका पूर्वाराजदूत उदयराज पाण्डेय बताउँछन् । नेपालबाट श्रमिकलाई शून्य लागतमा मलेसिया लैजानका लागि श्रम समझदारी भएकाले त्यसको कार्यान्वयन चुनौतीपूर्ण भएको उनी बताउँछन् ।

कामदारलाई मलेसिया लैजाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने गरी भएको व्यवस्थालाई कार्यान्वयन गर्न सरकारले बलियो अनुगमन गर्नुपर्ने उनको मत छ । ‘सकेसम्म आफ्ना नागरिकलाई देशभित्रै रोजगारी दिन सके बेस हुन्छ,’ उनी भन्छन्, ‘त्यो सकिँदैन भने पनि महिनाको ३५ हजार कमाउन जाने श्रमिकमाथि आर्थिक शोषण हुन नदिने ग्यारेन्टी गर्नैपर्छ ।’

मलेसियासँग भएको सम्झौता अनुसार मेडिकलमा भएको खर्च पनि पहिलो महिनाको तलब दिने समयमा कम्पनीले फिर्ता गर्ने व्यवस्था छ । तर, यसको कार्यान्वयन पनि फितलो हुनसक्ने भएकाले सरोकारवाला पक्षले चनाखो भएर काम गर्नुपर्ने पाण्डे बताउँछन् ।


टिप्पणी गर्नुहोस्:

टिप्पणी रेकर्ड:

कुनै डाटा फेला परेन!

प्रतिलिपि अधिकार नेपाल अन्तर्राष्ट्रिय समाचार सर्वाधिकार सुरक्षित।

मेल:nepalinews.top@outlook.com वेबसाइट टेम्प्लेट