शान्ति मिसनमा धेरै सैनिक पठाउने सूचीमा नेपाल पहिलो

नेपाल समाचार 2024-02-08 14:48:4014198नेपाल समाचारएडवर्ड

काठमाडौँ — संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा सहभागी हुन थालेको साढे ६ दशकपछि नेपाल उक्त मिसनमा सैनिक पठाउने मुलुकको वरीयतामा एक नम्बरमा पुगेको छ । यूएन पिसकिपिङ वेबसाइटको पछिल्लो अपडेटअनुसार नेपाल सन् २०२३ को नोभेम्बर ३० बाट शान्ति मिसनमा सबैभन्दा बढी सैनिक पठाउने मुलुक बनेको हो । नेपालबाट अहिले ६ हजार २ सय ४७ जना शान्ति सैनिक विभिन्न मुलुकमा शान्ति स्थापनार्थ खटिएका छन् । 

image.png

१ सय २० भन्दा बढी मुलुकले शान्ति मिसनमा सुरक्षाकर्मी पठाउँदै आएका छन् । नेपालपछि बंगलादेश ६ हजार १ सय ९७ शान्ति सैनिक खटाउँदै दोस्रो नम्बरमा परेको छ । भारत ६ हजार ७३ शान्ति सैनिक पठाएर तेस्रो नम्बरमा छ । यस्तै, चौथोमा रुवान्डा, पाँचौंमा पाकिस्तान, छैटौंमा इन्डोनेसिया, सातौंमा घाना, आठौंमा पाकिस्तान, नवौंमा इजिप्ट र दसौं नम्बरमा मोरक्को छन् । यूएनले सन् २००१ देखि उक्त वरीयता निकाल्न थालेको हो । नेपाल शान्ति सैनिक पठाउने सूचीमा २०११ को अन्त्यसम्म नवौं नम्बरमा थियो । सन् २०२१ मे ३१ मा नेपाल ५ हजार ५ सय ७१ सुरक्षा फौज खटाएर दोस्रो वरीयतामा पुगेको थियो ।

नेपाल सन् १९५५ मा यूएनको सदस्य बनेको थियो भने १९५८ मा लेबनानमा ५ जना सैन्य पर्यवेक्षक खटाएर शान्ति स्थापनाको यात्रा थालेको थियो । त्यसपछि इजिप्टमा पहिलो पटक पुरानो गोर्खा बटालियनको टोलीलाई शान्ति सैनिकका रूपमा खटाइएको थियो । नेपाली सेनाका अनुसार हालसम्म ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८ सय ९० जना सैनिक खटाइसकेको छ । सेनाले इन्जिनियर, मेडिकल टोली र स्पेसल फोर्स टोलीसमेत पठाएको छ । नेपालले सिरिया, लिबिया, इराक, कंगो, हाइटी, लेबनान, सुडान, दक्षिण सुडान, इजरायल, कंगो, मालीलगायत द्वन्द्वग्रत मुलुकहरूमा शान्ति स्थापनाका लागि काम गरेको छ ।

सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले लामो समयदेखि विश्व शान्तिका लागि योगदान गर्दै आएको बताए । ‘नेपालको पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीतिअनुरूप नेपाली सुरक्षाकर्मीले आफूले पाएको भूमिकालाई निर्वाह गर्दै आएको छ, पक्कै पनि नेपाल र नेपालीका लागि यो गौरवको कुरा हो,’ उनले भने । भूराजनीतिक जानकार तथा अवकाश प्राप्त उपरथी विनोज बस्न्यात शान्ति स्थापनार्थ नेपाल पहिलो वरीयतामा पुग्नुले अन्तर्राष्ट्रिय रूपमा पक्कै पनि अर्थ राख्ने मान्छन् । ‘शान्ति स्थापनार्थ नेपालले निर्वाह गरेको भूमिकाले विश्वभर राम्रो सन्देश जान्छ । यसले नेपाली सेनाले मात्र होइन, नेपालको परराष्ट्र नीतिले विश्वमा शान्ति स्थापनाका लागि खेल्ने भूमिकालाई पनि प्रतिविम्बित गर्छ,’ उनले भने, ‘यूएनले नेपालप्रति विश्वास र सम्मान दिएको छ ।’


अवकाश प्राप्त प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपालको परराष्ट्र नीतिले राष्ट्रसंघको बडापत्रलाई अनुमोदन गरेअनुसार विश्वमा शान्ति र मानवीय क्षेत्रमा नेपाली सेनाले सधैं जिम्मेवारी पूरा गरिरहने बताए । ‘नेपाल भरपर्दो र विश्वासिलो शान्ति सेना दिने मुलुकमा पर्छ । त्यो एक्सपोजर, अनुभव र अन्तर्राष्ट्रिय वातावरणमा काम गर्न पाउनु पनि नेपाली सेनाका लागि राम्रो कुरा हो । यसबाट धेरै कुरा सिकिन्छ । विभिन्न देशसँग काम गरिन्छ । साथमा योगदान गरेबापत सैनिकहरूलाई व्यक्तिगत रूपमा आर्थिक लाभ पनि हुन्छ,’ उनले भने । शान्ति सेनामा सहभागी सैनिकहरूले प्राप्त गरेको भत्ताको केही प्रतिशत कटाएर सेनाले १ करोड २४ लाख रुपैयाँ जम्मा गर्दै २०३२ सालमा सैनिक कल्याणकारी कोष स्थापना गरेको थियो । उक्त कोषमा अहिले ७० अर्ब रुपैयाँभन्दा बढी भइसकेको छ ।

क्षत्रीकै कार्यकालमा नेपालले करिब १० हजार शान्ति सैनिक एक वर्षमा पठाउने प्रस्ताव सैनिक मुख्यालयबाट गरेको थियो, जसलाई सरकारले स्वीकृति दिएको थियो । कुल सैनिक संख्याको १० प्रतिशत शान्ति मिसनमा जान पाउँछन् । त्यसको मतलब करिब ९६ हजार नेपाली सेनाको अब १० प्रतिशत अर्थात् ९ हजार ६ सय जना सैनिक एक वर्षमा शान्ति स्थापना मिसनमा जान पाउनेछन् । हाल नेपाली सेनाले विश्वभरका विभिन्न १२ मिसनमा काम गरिरहेको छ । जसमा नेपाली सेनाबाट ६ सय ३२ महिलासहित ५ हजार ८ सय ८५ जना, सशस्त्र प्रहरी बल (एपीएफ) बाट करिब २ सय र बाँकी नेपाल प्रहरीका छन् ।

यूएन मिसनमा जानका लागि पूर्वतयारी गर्न ‘नेपाली सेना वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र’ सन् १९८६ मा काभ्रेको पाँचखालमा स्थापना भएको थियो । आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा सेनाका ७३ जनाको ज्यान गएको छ भने ६८ जना घाइते भएका छन् ।


टिप्पणी गर्नुहोस्:

टिप्पणी रेकर्ड:

कुनै डाटा फेला परेन!

प्रतिलिपि अधिकार नेपाल अन्तर्राष्ट्रिय समाचार सर्वाधिकार सुरक्षित।

मेल:nepalinews.top@outlook.com वेबसाइट टेम्प्लेट