भक्तपुरका ‘मछलीवाला’

नेपाल समाचार 2022-01-16 21:59:2213877Nepal Newsसमाचार केन्द्र

भारत विहारका ६० वर्षीय सुदर्शन मुखिया नेपाल आउँदा २० वर्षका थिए। गुजाराका लागि ससाना काम गर्दै आएका मुखियाले ३५ वर्षदेखि भने सांस्कृतिक नगरी भक्तपुरमा सिद्राको व्यापार गर्दै आएका छन्।  

भक्तपुरमा ‘मछलीवाला’ नामले समेत चिनिने सुदर्शन यही नाम आफूलाई प्यारो लागेको सुनाउँछन्। ‘मलाई त सबैले मछलीवाला भन्छन्,’ सुदर्शनले सुनाए, ‘यही नामले बोलाउँदा मलाई रमाइलो लाग्छ।’  

भक्तपुरका चोक र डबलीमा माछा बोकेर हिँड्ने  उनी गल्लीमा  गीत  गुनगुनाउँदै अगाडि बढ्छन्। नगरका चोकहरूमा जब उनको  गानाको धुन सुनिन्छ तब सर्वसाधारण मछलीवाला आएको पत्तो पाउँछन्। ‘मेरो गीत नै मेरो पहिचान जस्तै भइसक्यो,’ मछलीवाला भन्छन्, ‘गीतले मेरो व्यापार पनि बढाएको छ।  

हिन्दी, नेपाली र भोजपुरी गाना गुनगुनाउने उनी नेवारी गाना भने निकै मुस्किल रहने सुनाउँछन्। लामो समय भक्तपुरमा बस्दा नेवारी भाषा बुझे पनि पूरै फर्काउन अझै नआएको उनी बताउँछ्। ‘यहाँको कला–संस्कृति धेरै बुझेको छु,’ उनले भने, ‘भाषाचाहिं थोरै मात्र सिक्न सके।’  

भक्तपुरमा महिनैपिच्छे जात्रा आउने उनले सुनाउँछन्। ‘यहाँ जन्मदेखि मृत्युसम्मका हरेक सस्ंकारमा माछाको आवश्यक पर्छ,’ उनले भने, ‘त्यसैले लामो समयसम्म यही शहरमा टिकेको छु।’ यहाँको सस्कृितसँग उनी निकै घुलमिल भएका छन्। कतिपय चाडपर्वमा उनलाई पनि निम्ता आउँछ तर आफ्नै कामले सहभागी भने हुन नसकेको उनी बताउँछ्न्।  

कुराकानीका क्रममा उनले भूकम्पको रमाइलो किस्सा पनि सुनाए। २०७२ सालको भूकम्पमा बाँचेका उनी लगत्तै भारत पुगेको बताए। ‘लामो समयसम्म भारतमा बेखबर रहँदा यहाँ म मरेको हल्ला चलेछ,’ उनले हाँस्दै भने, ‘म फर्कदा त पैसा हातमा दिएर मेरो अनुहार हेर्नेको भीड नै लाग्यो।’

भक्तपुरवासीले आफ्नो जीवनप्रति देखाएको यो माया आफूले कहिल्यै भुल्न नसक्ने उनले बताए।

माछा भक्तपुरवासीको संस्कृतिको एक अंग रहेको संस्कृतविद् ओम घौभडेल सुनाउँछन्। ‘जन्मदेखि मृत्युसम्मका हरेक संस्कारमा सुकेका माछा अनिवार्य हुन्छ,’ उनले भने, ‘त्यसैले हरेक घरमा माछाको आवश्यकता पर्छ।’  

संस्कृतिसँग जोडिएको सामग्री घरघरमै पुर्‍याउने भएकाले मछलीवाला संस्कृतिको सम्वाहक जस्तै रहेको उनले सुनाए। ‘सस्कृितसँग उनी पनि जोडिएका छन्,’ धौभडेलले सुनाए, ‘त्यसैले उनी नगरवासीको प्यारो भएका छन्।’


टिप्पणी गर्नुहोस्:

टिप्पणी रेकर्ड:

कुनै डाटा फेला परेन!

प्रतिलिपि अधिकार नेपाल अन्तर्राष्ट्रिय समाचार सर्वाधिकार सुरक्षित।

मेल:nepalinews.top@outlook.com वेबसाइट टेम्प्लेट