‘दीपेन्द्रको उत्कृष्ट फिल्डिङ नै जितको टर्निङ प्वाइन्ट’

अन्तर्राष्ट्रिय समाचार 2022-02-18 23:44:3913814Nepal International NewNewsCenter

६ फागुन काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ११७ रनमै सीमित हुँदा धेरैलाई पराजयको डर थियो । तर, सानो योगफल रक्षा गरी नेपालले विजयी सुरुवात गर्दा बलिङ पक्षको प्रदर्शन प्रशंसायोग्य छ । नेपालले ओमानलाई ७८ रनमै अलआउट पारेपछि ३९ रनको जित हासिल गरेको हो ।

नियमित र अनुभवी बलरद्वय सोमपाल कामी र करण केसीको अभाव हुन नदिन युवा स्टार कमलसिंह ऐरी र ६ वर्षपछि पुनरागमन गरेका टिमका ‘योर्कर किङ’ जितेन्द्र मुखियाले ओमानको अल अमेरात रंगशालामा आफ्नो प्रभाव देखाए । दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ‘डाइरेक्ट हिट’मार्फत् विष्फोटक ब्याटर जतिन्दर सिंहलाई रनआउट गरेपछि ओमानले पावर प्ले (६ ओभर)मा २५ रन बनाउँदा ३ शीर्ष ब्याटर गुमाइसकेको थियो ।

राष्ट्रिय टोलीका पूर्वप्रमुख प्रशिक्षक जगत टमाटा छैटौं ओभरमा प्राप्त यो सफलता नै जितको ‘टर्निङ प्वाइन्ट’ मान्छन् । ‘जतिन्दर सिंह राम्रो लयमा रहेका मुख्य ब्याटर थिए । मेरो विचारमा दीपेन्द्रले डाइरेक्ट हिटमार्फत् जतिन्दरलाई जसरी आउट गरे, त्यसले खेल पूर्णतः हाम्रो नियन्त्रणमा आयो,’ खेलको समीक्षा गर्दै प्रशिक्षक टमाटाले अनलाइनखबरसँग भने ।

कप्तान सन्दीप लामिछानेले पनि दीपेन्द्रको रनआउटलाई खेलको महत्त्वपूर्ण पक्ष भएको बताए । खेलपछि आधिकारिक प्रशारण च्यानलसँगको कुराकानीमा उनले भने, ‘यति स्कोर रक्षा गर्नु भनेको हाम्रो पराजित नहुने भावनाको कारक थियो । फिल्डमा सबैले उत्कृष्ट प्रदर्शन गरे । आरिङको ब्याटिङ र बलिङमा सुरुवातदेखिको सफलता महत्त्वपूर्ण थियो । दीपेन्द्रले जतिन्दरलाई रनआउट गर्नु पनि खेलको अर्को महत्त्वपूर्ण पक्ष हो ।’

नेपालको समूहमा घरेलु टोली ओमानसँग क्यानडा र फिलिपिन्स छन् । यो समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । यो जितपछि नेपालाई सेमिफाइनलको बाटो धेरै हदसम्म सहज बएको छ । नेपालले शनिबार फिलिपिन्स र सोमबार क्यानडासँग खेल्दैछ । घरेलु टिममाथिको पहिलो जितले नेपालको आत्मविश्वाससमेत बढेको छ ।

प्रशिक्षक टमाटाले फिल्डभित्र कप्तान सन्दीप लामिछानेको योजनाको पनि प्रशंसा गरे । ‘पहिलो इनिङमै हामीले बुझिसकेका थियौं कि विकेट स्लो थियो । त्यसैले ठूलो योगफल बनाउन सकेनौं । मेरो विचारमा यो विकेटमा अझै २०/२५ रन कम भएको हो । तै पनि हामीले जित्न सक्यौं, त्यो भनेको अनुशासित बलिङको परिणाम हो,’ टमाटाले थपे, ‘विकेटको प्रकृतिअनुसार फिल्डभित्रको योजना सफल भएको मान्छु । पहिलो इनिङको प्रदर्शनअनुसार नै दोस्रो इनिङमा जुन योजना बन्यो यो हिसावमा उत्कृष्ट कप्तानी पनि भएको छ । बलरहरूले आवश्यकताअनुसार बलिङ गरे, विपक्षीलाई लामो साझेदारी गर्न दिएनन् ।’

प्रशिक्षक टमाटाले आगामी खेलहरूमा टिमको प्रदर्शन अझै सुधारिने अपेक्षा राखेका छन् । उनले ओमानमाथिको जितलाई उत्कृष्ट टिम गेमको नमूनासमेत भनेका छन् । उनले भने, ‘आजको खेलमा नेपाली खेलाडीहरूले ब्याटिङ, बलिङ र फिल्डिङबाट सबैले सन्तुलित योगदान गर्न सके । सबै दिन एकै प्रकारको हुँदैन । हामीले आगामी खेलहरूमा सुधार गर्नुपर्ने कुराहरू पनि धेरै छन् । तर, यो जितले हामीलाई धेरै हदसम्म सहज बनाएको छ ।’

ओमानका विकेटकिपर नसिम खुशीले सर्वाधिक २४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् । आठौं नम्बरमा ब्याटिङ गरेका खुशीले १८ बल खेल्दै १ चौका र २ छक्का प्रहार गरे ।

ओमानका जतिन्द्रसिंह र अमिर कलिम ९/९, खवार अली ७, कलिमुलल्ह ५, आयन खान ३, कप्तान जिसान मक्सुद २, सोएब खान १ रनमा आउट भए । फयाज बट ६ रनमा अविजित रहे ।

ओमानविरुद्ध बलिङ गरेका नेपालका सबै बलरले विकेट लिए । सोमपाल कामी र करण केसीजस्ता मुख्य तीव्र बलर नहुँदा नयाँ बलमा कमलसिंह ऐरीले नेपालका लागि सर्वाधिक ३ विकेट लिए । पहिलो ओभरमै कश्यप प्रजापतीलाई आउट गरेका कमलले बिलाल खानलाई बोल्ड गर्दै ओमानको अन्तिम विकेटसमेत लिए । उनले ३ ओभरमा १५ रन मात्र खर्चिए ।

कप्तान सन्दीप लामिछाने र दिपेन्द्रसिंहको स्पिन जोडीले ४ विकेट लिए । बलिङ र पिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्रले ४ ओभरमा १५ र खर्चेर २ विकेट लिए । साथै उनले एक क्याच लिए भने एउटा डाइरेक्ट हिटबाट उत्कृष्ट रनआउट गरे ।

सन्दीपले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । यसैगरी जितेन्द्र मुखियाले किफायती बलिङ गर्दै ३ ओभरमा ९ रन खर्चेर १ विकेट लिए । अविनाश बोहराले १ विकेट लिए ।

ओमानका कप्तान जिसन मक्सुदले ब्याटिङमा आफ्नो टिमका कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न नसकेकोमा दु:ख ब्यक्त गरे । ‘हाम्रो ब्याटिङ युनिट पूर्णतः निस्प्रभावी रह्यो,’ उनले क्यानडाविरुद्ध कमजोरी सुधारेर अघि बढ्ने बताएका छन् ।

त्यसअघि नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो । मध्यक्रममा आरिफ शेखले ३८ रन बनाउनुबाहेक अन्यले अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् ।

आसिफ शेख पहिलो ओभरमै ४ रनको व्यक्तिगत स्कोरमा आउट भए । तेस्रो ओभरमा अर्का ओपनर कुशल भुर्तेल पनि ५ रनको स्कोरमा आउट भए । दुवैलाई ओमानका तीव्र बलर विलाल खानले खाबर अलीबाट क्याच आउट गराएका हुन् ।

लोकेश बम १६ रन, पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १५ रन, दीपेन्द्रसिंह ऐरीले ११, विवेक यादवले ७ रन जोडे । इनिङ्सको अन्तिमतिर आक्रमक ब्याटिङ गरेका कप्तान सन्दीप लामिछाने १६ रनमा अविजित रहे । उनले ७ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे ।

ओमानका खवार अलीले ४ ओभरमा ३० रन खर्चेर ३ र विलाल खानले ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।

टिप्पणी गर्नुहोस्:

टिप्पणी रेकर्ड:

कुनै डाटा फेला परेन!

प्रतिलिपि अधिकार नेपाल अन्तर्राष्ट्रिय समाचार सर्वाधिकार सुरक्षित।

मेल:nepalinews.top@outlook.com वेबसाइट टेम्प्लेट